नियम १०१
बेरुजु फछ्र्यौट मूल्याङ्कन र अनुगमन समिति
(१) कार्यालयले गरेको बेरुजु फछ्र्यौटको अनुगमन गरी बेरुजु फछ्र्यौट सम्बन्धी काम कारबाहीमा प्रभावकारिता ल्याउन नेपाल सरकारले बेरुजु फछ्र्यौट मूल्याङ्कन र अनुगमन समिति गठन गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिमको समितिमा देहायका अध्यक्ष र सदस्यहरू रहनेछन्ः–
(क) मुख्य सचिव – अध्यक्ष
(ख) सचिव, अर्थ मन्त्रालय – सदस्य
(ग) सचिव, सामान्य प्रशासन मन्त्रालय – सदस्य
(घ) महालेखा नियन्त्रक – सदस्य
(ङ) नेपाल सरकारले मनोनयन गरेको व्यक्ति – सदस्य–सचिव
(३) उपनियम (१) बमोजिमको समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः (क) मन्त्रालय, सचिवालय, विभाग वा कार्यालयले गरेको बेरुजु फछ्र्यौट सम्बन्धी काम कारबाहीको लेखाजोखा तथा मूल्याङ्कन गर्ने,
(ख) कायम भएको बेरुजु कम फछ्र्यौट गर्ने वा फछ्र्यौट नगर्ने मन्त्रालय, सचिवालय वा विभागका प्रमुखलाई समितिमा उपस्थित गराई निजसँग छलफल गर्ने,
(ग) कायम भएको बेरुजु फछ्र्यौट नगर्ने वा नगराउने कार्यालय प्रमुख र कर्मचारीलाई मूल्याङ्कनको आधारमा कारबाहीको लागि सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने र यसरी दिइएको निर्देशन माथि कारबाही नगरेको पाइएमा लेखा उत्तरदायि अधिकृत उपर विभागीय कारबाहीको निमित्त नेपाल सरकार समक्ष सिफारिस गर्ने,
(घ) सम्बन्धित मन्त्रालय, सचिवालय वा विभागलाई बेरुजु फछ्र्यौट गर्न आवश्यक निर्देशन दिने र बेरुजु फछ्र्यौट सम्बन्धी कारबाही
शुरु गरे वा नगरेको वा असूल उपर गर्नु पर्ने भनी ठहयाएको बेरुजु तोकिएको समयभित्र असूल उपर गरे नगरेको वा केन्द्रीय तहसिल कार्यालयमा पठाए नपठाएको सम्बन्धमा अनुगमन गर्ने,
(ङ) बेरुजु फछ्र्यौट सम्बन्धी काम कारबाहीको सम्बन्धमा प्रत्येक छ महिनामा सम्बन्धित मन्त्रालय, सचिवालय वा विभागको प्रगति
विवरण तयार गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र वार्षिक प्रतिवेदन मन्त्रिपरिषद्मा पेश गर्ने ।
(४) उपनियम (१) बमोजिमको समितिको सदस्य–सचिवको पारिश्रमिक र सुविधा नेपाल सरकारले तोके बमोजिम हुनेछ ।
(५) उपनियम (१) बमोजिम गठित समितिले आफ्नो कार्यविधि आफैंं व्यवस्थित गर्न सक्नेछ ।
(६) समितिको सचिवालय अर्थ मन्त्रालयमा रहनेछ ।